काठमाडौं, फागुन २९
एफवान सफ्ट इन्टरनेशनलले ‘क्विक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको कार्य सुरुवात भएको आधिकारिक घोषणा गरेका छ । साथै यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित समेत गरेको छ । सम्मानित हुनेहरुमा प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रालि र प्रथम बिक्रेता कम्पनीको रुपमा बीएल स्टिल प्रालि रहेका छन् ।
‘क्विक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । आबद्ध बैंकहरुले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउँछन् भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दछ । ‘क्विक भुक्तानी’ यस्तो अनलाइन प्लेटफर्र्म हो जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर), ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँछ ।
सप्लायरले, यो प्लाटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्पूर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ । हाल यस क्विक भुक्तानी’ प्लेटफर्ममा लक्ष्मी बैंक र मेगा बैंक आबद्ध भएका छन् भने अन्य बैंकहरु पनि आबद्ध हुने प्रक्रियामा छन् । अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्विक भुक्तानी’ एकदमै सान्दर्भिक र लाभदायक हुने विश्वास एफवान सफ्टले लिइएको छ ।