पोखरा। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रूपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामूहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्बोधन गर्दै उनले सामूहिक लगानीमार्फत उद्यमशीलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन् ।
‘आर्थिक विकास र समृद्धिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रूपमा खडा भएको छ । प्रत्येक वर्ष पाँच लाख युवा श्रमबजारमा प्रवेश गर्छन् तर रोजगारीको अवसर नपाउँदा विदेशिन बाध्य भइरहेका छन्’, उनले भने । उद्योग तथा साना व्यवसायमा सामूहिक लगानीमार्फत नयाँ–नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको अध्यक्ष मल्लले बताए । कृषि, पर्यटन एवं साना उद्योगमा रोजगारी सिर्जना गर्ने सकिने अध्यक्ष मल्लको भनाइ छ ।
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त समयमा रोजगारी सिर्जना गराउने गरी योजना बनाउन अध्यक्ष मल्लले सरकारको ध्यानाकर्षण गराए । विद्यार्थीले विश्वविद्यालयमा पठनपाठनसँगै कृषि, सूचना प्रविधि एवं औद्योगिक क्षेत्रमा अतिरिक्त समयमा काम गर्नसक्ने वातावरण बनाइदिने हो भने यसले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष मल्ले जोड दिए । सामूहिक लगानीमार्फत आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सकिने अध्यक्ष मल्लको तर्क छ ।