काठमाडौं, फागुन २९
ग्लोबल आईएमई बैंकले विद्यार्थीहरूलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वत जिल्लाको कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहीन विद्यार्थीहरूलाई ट्र्याकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको हो । संघीय सांसद पदम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमका बीच उक्त सामग्रीहरू सांसद गिरी र ग्लोबल आईएमई बैंक कुश्मा शाखाका शाखाप्रमुख प्रकाश शर्माले संयुक्तरूपमा हस्तान्तरण गरेको जानकारी बैंकले दिएको छ ।
उक्त सामग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईलगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइ तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको छ ।