अमेरिका, फागुन २९
गुगलको मातृकम्पनी अल्फाबेटले आफ्ना उत्तर अमेरिकी कर्मचारीलाई घरबाटै काम गरेर कोरोना संक्रमण घटाउन सहयोगका लागि आग्रह गरेको छ । गत हप्ता नै उसले वासिङटन स्टेटका कर्मचारीलाई पत्र पठाएको थियो । पछिल्लो आग्रहअनुसार उसले अमेरिका र क्यानडामा रहेका १ लाख कर्मचारीलाई घरबाटै काम गर्न भनेको हो । घरबाटै काम गर्न भन्नेमा अल्फाबेट पछिल्लो कम्पनी हो ।
हाल अमेरिकामा १ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । उत्तर अमेरिकामा रहेका कम्पनीका कार्यालयहरु भने खुल्नेछन् । आउनैपर्ने कर्मचारीको हकमा कार्यालय बन्द नगरिने कम्पनीले जनाएको छ । गत हप्ता मात्रै गुगलले पनि घरबाटै काम गर्न कर्मचारीलाई आग्रह गरेको थियो । यसबाहेक एप्पल, अमेजन, माइक्रोसफ्ट र फेसबुकले पनि कर्मचारीलाई घरबाटै काम गर्न भनिसकेका छन् । क्यालिफोर्नियामा र न्युयोर्कमा अल्फाबेटका ठूला कार्यालय छन् ।