नयाँ दिल्ली, फागुन २९
भारतीय अर्बपति मुकेश अम्बानी एसियाको धनीमा दोस्रो नम्बरमा परेका छन् । उनलाई उछिन्दै अलिबाबाका संस्थापक तथा प्रमुख धनाढ्य ज्याक माले पछि पारेका हुन् । सोमबार कच्चा तेलको मूल्य उच्च दरमा विश्व बजारमा सस्तिएपछि मालाई फाइदा भएको हो । सोमबार कोरोनाको त्राससँगसँगै रुस र ओपेक सदस्य राष्ट्रहरुबीच तेल उत्पादन कटौतीमा सहमति नजुटेपछि साउदी अरेबियाले रुसलाई टक्कर दिन उत्पादन बढाउने घोषणा गरेको थियो । त्यसपछि बजारमा तेलको मूल्य प्रतिब्यारेल एक तिहाइले घटेको थियो ।
तेलको मूल्य घटेपछि इन्धनको व्यापारी समेत रहेका अम्बानीले ५ अर्ब ८० करोड डलर सम्पत्ति गुमाएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।सम्पत्ति घटेसँगै ज्याक मा एसियाको धनी बनेको ब्लुमबर्गको अर्बपति इन्डेक्सले देखाएको हो । पछिल्लोपटकको उतारचढावसँगै ज्याक माको सम्पत्ति अम्बानीको भन्दा २ अर्ब ६० करोड डलरले बढी पुगेको छ । मासँग कुल ४४ अर्ब ५० करोड डलर सम्पत्ति छ ।