काठमाडौं,बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी एकराज दाहाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कमल थापाका अनुसार ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ घरभई काठमाडौं महानगरपालिका–६ बस्ने ५७ वर्षीय दाहाललाई बुधबार काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरिएको हो ।
उच्च अदालत पाटनको २०७८ फागुन १३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ३५ दिन कैद र एक करोड ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए ।
प्रहरी उपरीक्षक थापाका अनुसार दाहालले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको तीन थान चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रवक्ता थापाको भनाइ छ ।