काठमाडौं । नेपाल उद्योग परिसंघले आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तिमा दुई तहको फरक गर्न आग्रह गरेको छ । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर परिसंघमा बुधबार आयोजित अन्तर्क्रिया परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले आयात हुने तयारी वस्तु तथा सो तयारी वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार दरमा कम्तिमा एक तहको फरक हुने सरकारको नीतिलाई दुई तह वा कम्तिमा १० प्रतिशतको अन्तर हुने गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने बताए ।
कार्यक्रममा उनले आत्मनिर्भर भइसकेका तथा आत्मनिर्भर उन्मुख वस्तुहरूको आयात निरूत्साहित गरिनुपर्नेमा समेत जोड दिए । यस्तै उनले ग्रीन च्यानलबाट पैठारी हुने वस्तुहरूको संख्या बढाउँदै लैजान पनि आग्रह गरे । यसैगरी कार्यक्रममा परिसंघ राजश्व समिति सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन आग्रह गरे । सन्दर्भ पुस्तिकाका कारण अधिक बीजकीकरण र न्यून बीजकीकरणलाई प्रोत्साहित गरिरहेको उनको भनाइ थियो ।
बिलबिजक मूल्यलाई मान्यता दिने तर सन्दर्भपुस्तिकाको मूल्यलाई आधार मान्ने अभ्यासले मिसम्याच भइरहेको उनले बताए । वस्तुको मूल्य र आयातकर्ताको विवरण नखुलेको सामान निर्बाध आयात भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै भन्सारमा कडाइ गर्न उनले आग्रह गरे ।
परिसंघले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न सरकारी निकायहरुमा नेपाली उत्पादन प्रयोग गराउन पनि आग्रह गरेको छ । यस्तै चोरी पैठारी नियन्त्रण गर्न, सार्वजनिक बिदाको दिन अन्य दिन जस्तै नियमित पूर्णरुपमा काम गराउन, भन्सार जाँच पास पछि पनि मालवाहक गाडी पुनः चेकजाँच गर्ने परिपाटी कम गर्न पनि परिसंघले आग्रह गरेको छ ।