काठमाडौं । बैंकहरुमा खराब कर्जाको अनुपात बढेको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाहेकका सबै बैंकहरुमा खराब कर्जाको अनुपात बढेको देखिएको छ ।
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये सबैभन्दा बढी खराब कर्जा कृषि विकास बैंकमा देखिएको छ भने सबैभन्दा कम खराब कर्जा नेपाल एसबीआई बैंकमा देखिएको छ । चालू आवको दोस्रो त्रैमासिकमा कृषि विकास बैंकमा चार दशमलव ५२ प्रतिशत कर्जा खराब हुँदा नेपाल एसबीआईमा शून्य दशमलव ४७ प्रतिशत मात्र कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने कृषिमा विकास बैंकमा दुई दशमलव शून्य आठ प्रतिशत कर्जा खराब हुँदा नेपाल एसबीआईमा शून्य दशमलव १४ प्रतिशत मात्र कर्जा खराब थियो । वित्तीय विवरण प्रकाशन गरेका बैंकहरुमध्ये तीनवटा बैंकमा खराब कर्जाको अनुपात दुई प्रतिशतभन्दा कम छ भने आठवटा बैंकहरुमा खराब कर्जा तीन प्रतिशतभन्दा कम छ । यसैगरी पाँचवटा बैंकमा खराब कर्जाको अनुपात चार प्रतिशतमुनि छ भने एउटामा खराब कर्जाको अनुपात पाँच प्रतिशतमुनि छ । पाँचवटा बैंकहरुमा भने खराब कर्जाको अनुपात एक प्रतिशतभन्दा तल रहेको छ ।
अपरिष्कृत वित्तीय विवरणअनुसार खराब कर्जा बढी हुनेमा सिभिल बैंकलाई गाभ्ने तयारीमा रहेको हिमालयन बैंक दोस्रो स्थानमा परेको छ । हिमालयनमा तीन दशमलव ७७ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा हिमालयनमा यस्तो कर्जाको अनुपात शून्य दशमलव ७२ प्रतिशत थियो । यसैगरी पुस मसान्तमा मात्र मेगा बैंकलाई गाभेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पनि खराब कर्जाको अनुपात तीन दशमलव ७१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा उक्त बैंकमा यस्तो कर्जाको अनुपात दुई दशमलव शून्य छ प्रतिशत रहेको थियो । लक्ष्मी बैंकसँग मर्जर प्रक्रियामा रहेको सनराइज बैंकमा पनि खराब कर्जा उच्च देखिएको छ । चालू आवको दोस्रो त्रैमासिकमा सनराइजमा तीन दशमलव ३६ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा सनराइजमा यस्तो कर्जाको अनुपात एक दशमलव ४१ प्रतिशत रहेको थियो । यसैगरी केही समयअघि मात्र नेपाल क्रेडिट एण्ड कमर्स बैंक समेतलाई गाभेर एकीकृत कारोबार सुरु गरेको कुमारी बैंकमा पनि चालू आवको दोस्रो त्रैमासिकमा तीन दशमलव १५ प्रतिशत कर्जा खराब देखिएको छ ।
गत आवको सोही अवधिमा कुमारीमा यस्तो कर्जाको अनुपात एक दशमलव शून्य छ प्रतिशत रहेको थियो । नेपाल बैंकमा पनि तीन दशमलव ११ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा नेपाल बैंकमा यस्तो कर्जाको अनुपात एक दशमलव ९१ प्रतिशत रहेको थियो । सिटिजन्स, नबिल, ग्लोबल आईएमई र सिद्धार्थ बैंकमा भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः दुई दशमलव ९९, दुई दशमलव ९८, दुई दशमलव ९२ र दुई दशमलव ८७ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ८७, एक दशमलव ११, एक दशमलव १३ र शून्य दशमलव ३७ प्रतिशत रहेको थियो ।
चालू आवको दोस्रो त्रैमासिक अवधिमा प्राइम कमर्सियल, सिभिल, एनएमबी र राष्ट्रिय वाणिज्य बैंकमा भने खराब कर्जाको अनुपात क्रमशः दुई दशमलव ८१, दुई दशमलव ४१, दुई दशमलव २४ र दुई दशमलव सात प्रतिशत छन् । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ७८, शून्य दशमलव ९४, एक दशमलव ४९ र तीन दशमलव शून्य छ प्रतिशत रहेको थियो । प्रभु, लक्ष्मी र माछापुच्छ्रे बैंकमा भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः एक दशमलव ९८, एक दशमलव ५६ र एक दशमलव ४१ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव २३, शून्य दशमलव ८३ र शून्य दशमलव ५७ प्रतिशत रहेको थियो । सानिमा, स्ट्यान्डर्ड चार्टर्ड, एनआईसी एसिया र एभेष्ट बैंकमा भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः शून्य दशमलव ७७, शून्य दशमलव ७२, शून्य दशमलव ६१ र शून्य दशमलव ५५ प्रतिशत कर्जा खराब छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ३१, शून्य दशमलव ४४, शून्य दशमलव ४७ र शून्य दशमलव २६ प्रतिशत रहेको थियो ।
