काठमाडौं । पोखराको सेती खोँचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको शनिबारसम्म पनि अवस्था पत्ता लागेको छैन । अवस्था पत्ता लागेकोहरुको काजकिरियासमेत सकिइसकेको छ ।
चालक दलका चारसहित ७२ यात्रु सवार उक्त विमान पोखराको नयाँ गाउँ नजिक सेती नदीको खोचमा खसेको थियो । फेला परेका ७१ जनाको निधन भएको पुष्टि भएको छ भने एकजनाको अवस्था अज्ञात छ । काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटना भएको थियो ।
सेनाले खोज तथा उद्धार कार्य शनिबार पनि जारी राखेको थियो । सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा फेला परेका शवलाई परीक्षणका लागि अस्पताल पु-याउने र ब्लाक बक्सलगायत सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । दुर्घटनास्थल खोच र कठिन भौगोलिक अवस्थाका कारण शव जल्नुका साथै टुक्रिएर छरिएकाले सङ्कलन र उद्धारका लागि विपद् व्यवस्थापनसँग सम्बन्धित विशेष फौज परिचालन गरिएको थियो ।