विराटनगर । सुुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित खाद्य उद्योगको उत्पादनमा न्यून गुणस्तर भएको पुष्टि भएपछि आधा दर्जन उद्योगविरुद्ध मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले चालू आर्थिक वर्षको पहिलो छ महिनामा न्यून गुणस्तरको वस्तु उत्पादन गर्दै बजार पढाउने छवटा उद्योगविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालामा उद्योगहरूबाट उत्पादन भएको खाद्यवस्तुको नमूना सङ्कलन गरेर ल्याब परीक्षण गर्दा न्यून गुणस्तरको पुष्टि भएपछि मुद्दा दायर गरेको कार्यालय प्रमुख राजकुमार परिजालले जानकारी दिएका छन् । कार्यालयले विराटनगर महानगरपालिका १९ मा रहेको शिखर अर्गनाइजेसन लि.बाट उत्पादन हुने मकै न्यून गुणस्तरको पुष्टि भएपछि ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको मागदाबी गर्दै मोरङ जिल्ला अदालतमा गत साउनमा नै मुद्दा दायर गरेको उनले जानकारी दिए ।
त्यस्तै चौपायको आहार उत्पादन गर्ने मोरङको बुढीगंगा गाउँपालिका २ स्थित नेपाल बलहोप एग्री टेक प्रालिले दूषित दाना पदार्थ उत्पादन गरी बिक्रीवितरण गरेको पाइएपछि ५० हजार रुपैयाँसम्म जरिवाना वा १ महिनादेखि १ वर्षसम्मको कैद सजायको माग दाबी लिएर जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दायर गरेको उनले बताए । यसैगरी विराटनगर १३ स्थित रुपसान प्रशोधित खानेपानी उद्योगविरुद्ध ५० हजार जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको मागदाबी राखेर जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको प्रमुुख परिजालले जानकारी दिए । उक्त उद्योगबाट प्रषोधित पिउने पानीमा लेबल नभएको भेटिएपछि मुद्दा दायर गरिएको हो ।
सुुनसरी मोरङ औद्योगिक करिडोरको चर्चित टोमेटो केचप उत्पादन गर्ने दुगढ स्पाइसेस एन्ड फुड प्रोडक्स प्रालिविरुद्ध पनि मुद्दा दायर गरिएको छ । बुढीगंगामा रहेको पूर्वराज्यमन्त्री समेत रहेका मोतीलाल दुुगढको उक्त कम्पनीले न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गरी बजारमा बिक्रीका लागि पढाउने गरेको पाइएपछि ५० हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्मको कैद सजायको माग दाबी गरी जिल्ला अदालतमा गत कात्तिक ३ गते नै मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ । कार्यालयले दायर गरेकोे मुद्दा हाल विचाराधीन अवस्थामा नै रहेका छन् ।