काठमाडौं । दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले ट्राफिक समस्या नै नभएको क्षेत्रमा काठमाडौं महानगरपालिकाले पार्किङ हटाएर मनोमानी गरेको टिप्पणी गरेका छन् । डेडिकेटेड पार्किङ लेनमा सवारीसाधन पार्किङ निषेध गरेर महानगरले काठमाडौंको व्यापारिक तथा पर्यटकीय गन्तव्यमाथि प्रहार गरेको उनीहरुको आरोप छ ।
दरबारमार्ग विकास बोर्डले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष सञ्जीव तुलाधरले पार्किङ हटाउने महानगरको निर्णयले व्यवसायमा ५० प्रतिशत गिरावट आएको बताए । हाल व्यवसाय नै बन्द गरेर सडकमा ओर्लिनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
अध्यक्ष तुलाधरले दरबारमार्गमा कुनै ट्राफिक जामको समस्या आफूहरुले कहिल्यै भोग्नु नपरेको उल्लेख गर्दै स्थानीय व्यवसायी र ट्राफिक प्रहरी मिलेर एक लेन पार्किङसहित चुस्त व्यवस्थापन गर्दै आए पनि महानगरलाई सह्य नभएकोमा आफूहरु आश्चर्यचकित भएको बताए । बोर्डका निवर्तमान अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिले भने ७० फिट चौडाइको सडकलाई बोर्ड स्थापनापछि पाँच लेनमा विभाजन गरी ट्राफिक प्रहरीकै संलग्नतामा एक लेन पार्किङका लागि डिजाइन गरिएको बताए ।
‘हामीले पहिले निःशुल्क पार्किङको व्यवस्था ग-यौँ तर महानगरले स्मार्ट पार्किङका नाउँमा घण्टाको ८० रुपैयाँ असुल्न थाल्यो’, उनी भन्छन्, ‘हामीले प्रतिघण्टा ४० रुपैयाँ कायम गर्न धेरै आग्रह गर्दा पनि सुनुवाइ भएन, अहिले त पार्किङ नै हटाइयो ।’ पार्किङ पुनस्र्थापनाका लागि आग्रह गर्न आफूहरुले मेयर बालेन शाहलाई पटक–पटक भेट्न खोजे पनि मेयरले समय नदिएको उनको भनाइ छ ।
‘महानगरले एकतर्फी निर्णय ग-यो तर यसको मूल्य हामीले मात्र हैन सरकारले पनि चुकाउने अवस्था आएको छ’, उनी भन्छन्, ‘हाम्रो दिनहुँ दशौं करोडमा हुने व्याापार आधा घटिसकेको, यसले सरकारको राजस्वमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ ।’