नयाँ दिल्ली । भारतीय अर्बपति गौतम अदानीले एकैदिन ठूलो परिमाणमा सम्पत्ति गुमाएका छन् । बीबीसीका अनुसार अमेरिकी कम्पनीले धोखाधडीको आरोप लगाएपछि लगातार दोस्रो दिन लगानीकर्ताले उनका कम्पनी छाडेपछि शुक्रबार एकै दिन २० अर्ब डलरभन्दा धेरै सम्पत्ति गुमाएका हुन् ।
अदानी ग्रुपले भने उक्त अमेरिकी लगानी कम्पनीको रिपोर्टलाई मालिसियसको संज्ञा दिँदै खारेज गरेको छ । भारतको प्रमुख प्रतिपक्षी दलले यसबारे अनुसन्धान गर्न सरकारसँग माग गरेको छ। उनका सार्वजनिक सूचीकृत कम्पनीहरुले ५० अर्ब डलरभन्दा धेरैको बजार मूल्य गुमाइसकेका छन् । अदानी इन्टरप्राइजेसको सेयर शुक्रबार २० प्रतिशतभन्दा धेरैले ओरालो लागेको थियो भने अन्य ग्रुपकै कम्पनीको पनि सेयरमा उच्च गिरावट आएको थियो । योसँगै विश्वको तेस्रो ठूलो धनी बनेका अदानी सातौँ स्थानमा झरेको फोब्र्स म्यागेजिनले जनाएको छ ।
संसारका धनाढ्यहरुको पछिल्लो समय सम्पत्ति गुमिरहे पनि अदानीले भने निरन्तर सम्पत्ति जोड्दै गएका थिए । पछिल्लो समय त उनले धनार्जनमा चर्चित अमेरिकी अर्बपति जेफ बेजोसलाई समेत पछि पारेका थिए ।