काठमाडौं । बीपीडब्लू लघुवित्त वित्तीय संस्थाले ९७ लाख रूपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गर्नेछ । संस्थाका अनुसार वैदेशिक रोजगारीमा रहेको र सर्वसाधारणको लागि समेत गरी संस्थाले एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी ९७ लाख कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।
संस्थाले जारी पुँजी तीन करोड रूपैयाँमध्येबाट ३२ दशमलव ३३ प्रतिशतको अनुपातमा जारी गर्ने ९७ लाख रूपैयाँबराबरको साधारण सेयरमध्येमा शून्य दशमलव ५० प्रतिशत अर्थात् १५ सय कित्ता सेयर संस्थामा कार्यरत कर्मचारीहरूको लागि छुट्याइएको छ । पाँच प्रतिशत अर्थात् चार हजार आठ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि, १० प्रतिशत अर्थात् नौ हजार सात सय कित्ता वैदेशिक रोजगारीका क्रममा रहेकाहरूको लागि बिक्री गरी बाँकी रहेको ८० हजार नौ सय ५० कित्ता सेयर भने सर्वसाधारणको लागि बिक्री गरिनेछ ।
बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको संस्थाले वैदेशिक रोजगारीका क्रममा रहेकाहरूको लागि यही माघ २२ गतेबाट सेयर बिक्री खुला गरी फागुन आठ गते बन्द गर्नेछ । सर्वसाधारणको लागि भने यही फागुन १८ गतेबाट सेयर बिक्रीकार्य खुला भई छिटोमा फागुन २३ गते र ढिलोमा चैत्र २ गते बन्द हुनेछ । अधिकृत पुँजी १० करोड र जारी पुँजी तीन करोड रूपैयाँ रहेको संस्थाको हाल चुक्ता पँुजी दुई करोड तीन लाख रूपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने संस्थाको चुक्ता पुँजी तीन करोड रूपैयाँ पुग्नेछ ।