काठमाडौं । बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले फरक–फरक मुद्दाका फरक– फरक व्यक्ति विभिन्न मितिमा उपत्यकाका विभिन्न ठाउँहरुबाट पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कमल थापाका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ४३ वर्षीय रोशन खत्री, भक्तपुर नगरपालिका–३ तेखाचो बस्ने ३९ वर्षीय गौतम चौगुठी र काठमाडौं तार्केश्वर नगरपालिका–११ मनमैजु बस्ने नुवाकोट ककनी गाउँपालिका–६ घर भएका ४२ वर्षीय राज कुमार लामा छन् । तीमध्ये रोशनलाई ललितपुर टिकाथलीबाट, गौतमलाई भक्तपुर वंशगोपालबाट र राज कुमारलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
पक्राउमध्ये रोशनलाई उच्च अदालत पाटनको २०७९ मंसिर ११ गतेको फैसलाले चार दिन कैद र सात लाख रूपैयाँ जरिवाना सजाय, गौतमलाई २०७९ मंसिर २३ गतेको फैसलाले आठ दिन कैद र २२ लाख रूपैयाँ जरिवाना सजाय तथा राज कुमारलाई २०७९ कात्तिक २५ गतेको फैसलाले १० दिन कैद र १८ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।
पीडितलाई आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उनीहरूउपर उक्त फैसला गरेको प्रवक्ता थापाले जानकारी दिए । फैसला कार्यान्वयनको लागि रोशन र गौतमलाई जिल्ला अदालत भक्तपुरमा र राजकुमारलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरी उपरीक्षक थापाको भनाइ छ ।
यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका–१७ घर भई काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवन बहादुर माझीलाई पक्राउ गरेको जानकारी दिएको छ । उक्त कार्यालयका अनुसार उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा एक करोड १९ लाख ७३ हजार छ सय रूपैयाँ बिगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका माझीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ ।