काठमाडौँ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालू आवको दोस्रो त्रैमासमा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा दुई सय ३७ दशमलव २९ प्रतिशतको उछाल आएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड चार लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४४ करोड एक लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । यस अवधिसम्ममा १८ अर्ब ६२ करोड ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने आठ अर्ब ४४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म कम्पनीको लगानी २० दशमलव ४६ प्रतिशत बढेर एक खर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी १४ प्रतिशत बढेर आठ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ, जीवन बीमा कोष २१ प्रतिशत बढेर एक खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ र महाविपति कोष १६ प्रतिशत बढेर ८३ करोड ३६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी समीक्षा अवधिमा २१औँ तथा २२औँ वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरी सकिएकोले जगेडा कोष ४८ करोड चार लाख ४९ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० दशमलव ७३ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय १६ रुपैयाँ एक पैसा र मूल्य अनुपात आम्दानी ६८ दशमलव ४४ गुणा रहेको छ ।
समग्रमा देशमा उत्पन्न भएको आर्थिक सङ्कटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रूपमा लिन सकिन्छ । आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरू अवलम्बन गर्दै नेपालीहरूकको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मूर्तरूप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।