पोखरा । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारणलगायतको कर्मचारी क्षमता अभिवृद्धि तालिम रणनीतिक योजना तर्जुमा गर्न तीन दिवसीय तालिम कार्यक्रम हालै पोखरामा सम्पन्न गरेको छ । सातवटै प्रदेशका प्रादेशिक कार्यालयका प्रमुखहरू, क्षेत्रीय व्यवस्थापकहरू, मध्य तथा उच्च व्यवस्थापनका सदस्यहरू सम्मिलित उक्त कार्यक्रममा संस्थाले कृषकहरूको सबै आवश्यकता सम्बोधन हुनेगरी किसान श्रृङ्खलाको कर्जाहरू सार्वजनिक गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले लघुवित्तबाट कर्जा लिएकै कारण कृषकहरू थप गरिब हुन नहुने नारासहित किसान श्रृङ्खलाअन्तर्गत विभिन्न कर्जाहरू ल्याइएको बताए । नाफामूलक परियोजनाको पहिचान गरी लगानीलाई पूर्ण सदुपयोग गरेको खण्डमा कृषकको आयस्तर बढ्नुका साथै कर्जा भुक्तानीमा कहिले समस्या नआउने उनले थपे । संस्थाले प्रत्येक कर्जालाई बीमाको माध्यमबाट थप सुरक्षित बनाउने योजना रहेको छ ।
थप जानकारी लिने क्रममा, संस्थाका प्रमुख व्यवसाय अधिकृत कमल पोख्रेलसँग बुझ्दा कृषकको आत्मासम्मान सुनिश्चित गरी परियोजनालाई सफलतापूर्वक कार्यान्वयन हुनेगरी किसान आत्मनिर्भर कर्जा, पूर्णरूपमा कृषिमै आधारित आयमा निर्भर भए पनि पर्याप्त कृषियोग्य जग्गा नभएको कारण ज्याला मज्दुरी गर्न बाध्य रहेका किसानहरूलाई खेतीयोग्य जग्गा खरिद गर्न किसान स्वाभिमान कर्जा साथै कृषि पूर्वाधार निर्माण, वातावरण संरक्षण, आकस्मिक पैँचो गरी संस्थाले यो श्रृङ्खलाअन्तर्गत पाँचवटा कर्जाहरू प्रोडक्टहरू ल्याएको जानकारी दिए ।
आगामी १५ दिनभित्र संस्थाका सबै कर्मचारीहरूलाई यस श्रृङ्खलाअन्तर्गतका कर्जाहरूको तालिम सम्पन्न गरी यो योजना पूर्णरूपमा लागू गर्ने संस्थाले लक्ष्य लिएको छ ।