काठमाडौं । सेयरबजारमा पुन करेक्सन देखिएको छ । यसअघि लगातार बढेको बजार परिसुचक अघिल्लो दिन सात दशमलव १६ अंकले घटेको थियो । तर साताको अन्तिम कारोबार दिन बिहिबार भने बजारले पुन सकारात्मक गति समातेको हो । जसअनुसार बजार परिसुचक सो दिन १२ दशमलव ४५ अंकले उकालो लागेर २१ सय ८२ दशमलव ६३ बिन्दुमा चढेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४२ अंकले उकालो लागेर चार सय १५ दशमलव ४२ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ३५ हजार चार सय ५० पटकको कारोबारमा ५६ लाख ४८ हजार दुई सय १२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब छ करोड २० लाख ५८ हजार सात सय ४९ रुपैंयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्स) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक घटेको छ भने बाँकी उपसमुहहरुको सुचक बढेका छन् ।