काठमाडौं । नेपाल र छिमेकी मुलुक भारतको खुला सिमानाको फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरूको अवैध ओसारपसार तथा कारोबारमा बृद्धि भएको छ । अवैधरूपमा गाडीका पार्टपुर्जाहरूको आयात हुँदा वैधानिकरूपमा कर तिर्ने व्यवसायीहरू मारमा परेका छन् । साथै राज्यलाई प्राप्त हुने राजस्वको ठूलो हिस्सा पनि गुमिरहेको छ । विश्वव्यापी महामारी कोभिड १९ का कारणले आक्रान्त भएका व्यवसायीहरू बैंकिङ नीतिमा आएको नीतिगत परिवर्तन तथा चर्को ब्याजले व्यवसाय धान्न मुस्किल भएको अवस्थामा यस किसिमका अवैध कारोबारका कारणले झनै व्यवसायबाट नै पलायन हुने अवस्था आएको व्यवसायीहरूको गुनासो छ । यस समस्याका कारण व्यवसायीहरू मात्र मारमा परेको नभई राष्ट्रलाई नै हानी भइरहेको भन्दै नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र वुटवल अटो इन्जिनियरिङ एसोसियसनले संयुक्तरूपमा जिल्ला प्रशासन कार्यालय, रूपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् । व्यवसायी र राज्य दुवै पक्ष मारमा परेको कारण यसलाई साझा समस्याको रूपमा लिई सरोकारवाला निकाय, संघसंस्था, भन्सार विभाग तथा प्रहरी प्रसासनको संयुक्त पहलमा अवैध कारोबारलाई निरुत्साहित गर्ने र अवैध कारोबारीहरूलाई कारबाहीको दायरामा ल्यउनुपर्ने कुरा उक्त ज्ञापनपत्रमा जनाइएको छ ।