काठमाडौं । नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा प्रर्दशनी हुन लागेको हो ।
महासंघले हरेक वर्ष गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक भने ‘नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९’ नामबाट आयोजना हुनलागेको हो । कोरोना महामारीको कारण विगत तीन वर्षमा भने प्रदर्शनी हुन सकेको थिएन । यस प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ र ‘मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने रहेको छ । विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न सुरु गरेको मेला संयोजक शोभा गुरुङले बताइन् । नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको उनले जानकारी दिइन् ।
अर्गानिक अभियानलाई टेवा पु-याउन उत्पादक र उपभोक्ताको साझा मञ्चको विकास गरी अर्गानिक उत्पादनको बजार प्रवर्द्धन गर्ने र शुद्ध भोजन स्वस्थ्य जीवनको भन्ने जनचेतना अभिवृद्धि गर्ने लक्ष्य प्राङ्गारिक कृषि मेलाको रहेको छ भने नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पु-याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरु उपलब्ध गराउने, अर्गानिक विषयहरुमा सरोकारवालाहरुसँग अन्तरक्रिया आदि गरिने अर्गानिक कृषि मेलाको उद्देश्य रहेको छ । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहनेछ ।
यस्तै प्रदर्शनीमा दुई सयवटा स्टलको व्यवस्था हुने र दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले बताए । यस मेलाको सहआयोजकको रुपमा अर्गानिक एसोसियसन अफ नेपाल, नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय–व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल पर्यटन बोर्ड आदि रहनेछन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरु यसका प्रवर्द्धक र सहयोगी रहनेछन् ।