काठमाडौं । चितवन क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपनिर्वाचन आगामी वैशाख १० गते हुनेभएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले उत्त स्थानमा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन वैशाख १० गते गर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचनको मिति तोकिएको आयोगका आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । गत मंसिर ४ भएको निर्वाचनमा उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने निर्वाचित भएका थिए । तर उनले अमेरिकी नागरिकता त्याग गरेपछि नेपालको नागरिकता सक्रिय नगरी निष्क्रय रहेको नागरिकता प्रयोग गरेर उम्मेदवारी दिएको पाइएपछि सर्वोच्च अदालतको माघ १३ गतेको फैसलाले उनको पद खारेज गरेको थियो । साथै अदालतले उक्त स्थानमा पुनः निर्वाचन गर्न आयोगलाई निर्देशन दिएको थियो । नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको छ ।
साथै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भएबमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो । आयोगले तोकेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनसम्बन्धी निर्वाचन कार्यक्रमअनुसार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता चैत २० गते हुनेछ । उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य चैत २३ गते हुने आयोगले जनाएको छ ।