काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १३औँ वार्षिक साधारणसभा होटल सारथी, धुलिखेल, काभ्रेमा सम्पन्न भएको छ । बैंकको शुक्रबार सम्पन्न भएको सभाले आव ०७८/०७९ को वार्षिक प्रतिवेदनलगायत विभिन्न प्रस्तावहरू पारित गरेको छ । साथै बैंकको संस्थापक सेयरधनीको तर्फबाट आगामी चार वर्षको लागि सञ्चालकहरूमा राजेन्द्र कुमार श्रेष्ठ, श्रीमती निभा डंगोल तथा कर्मचारी सञ्चयकोषका तर्फबाट प्रतिनिधित्व गर्नेगरी दिनेश कुमार केसी निर्विरोध निर्वाचित भएका छन् ।
सोही दिन सम्पन्न सञ्चालक समितिको बैठकद्वारा बैंकका अध्यक्ष पदमा आगामी चार वर्षका लागि राजेन्द्र कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको समेत बैंकले जनाएको छ । बैंकले आगामी दिनमा बागमती प्रदेशकै उत्कृष्ट विकास बैंकका रूपमा स्थापित गर्ने र अग्रणी विकास बैंकको रूपमा सिन्धु विकास बैंकलाई स्थापित गर्ने लक्ष्य लिएको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले सभामा गराए ।
सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रूपमा स्थापित बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी पाँच जिल्लाहरूमा २५ वटा शाखा कार्यालयहरू र एउटा सीमित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामीण भेगहरूमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण व्यक्तिहरूलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरूको सुविधाको लागि सम्पूर्ण शाखा कार्यालयहरूमार्फत मोबाइल बैंकिङ, एससीटी, डेबिट कार्ड, एसएमएस बैंकिङ, क्यूआर कोड, सी आस्वा, कनेक्ट आईपीएस, आरटीजीएसलगायत सेवाहरू प्रदान समेत गर्दै आइरहेको छ ।