काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक–आपसमा गाभ्ने÷गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शुक्रबार नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षको समुपस्थितिमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षहरूलगायत सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौतामा कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरे । नेपाल बीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरू तथा नीति, नियमहरूको पालना गर्दै बीमा क्षेत्रमा बढ्दै गएको तीव्र प्रतिस्पर्धा तथा अवसरहरूलाई ध्यानमा राखी एक सबल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय पहुँच, अनुभव र क्षमतालाई बढीभन्दा बढी प्रभावकारी बनाउँदै आफ्ना सेयरधनीहरूलाई समायानुकूल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक–आपसमा गाभ्ने/गाभिने सहमतिसहित प्रारम्भिक सम्झौता सम्पन्न भयो ।
उक्त सम्झौताअनुसार दुवै कम्पनी एक–आपसमा गाभिएपछि बन्ने कम्पनीको नाम आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिने कम्पनीले जानकारी दिएको छ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डीडीए रिपोर्ट समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात क्रमशः १ः१ कायम रहने गरी सम्झौता गरिएको हो ।