काठमाडौं,काठमाडौंको सडक यातायातमा यातायात मजदुर र ट्राफिक प्रहरीबीच नियम मिच्न प्रतिस्पर्धा चल्दा सर्वसाधारण मर्कामा परेका छन् । यातायात मजदुरहरुले ट्राफिकका अधिकांश नियम पालना नगर्ने अडान लिने र ट्राफिक प्रहरीले नियम नै उल्लंघन गरेर आफूखुसी जरिवाना गर्ने, ढुकेर बसेर पूर्वचेतावनी नदिई यातायात चालकमाथि कारबाही गर्न थालेपछि सडकमा दुवै पक्षका उद्दण्डता केही महिना अगाडिदेखि देखिन थालेको थियो ।
दुवै पक्षको उद्दण्डतामा आइतबार काठमाडौंको नयाँ बसपार्क भाडामा लिएर सञ्चालन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिको व्यवस्थापनले गुण्डागर्दी गर्दा यातायात मजदुर र व्यवसायीको आन्दोलन ट्राफिक गतिविधिको साथै ल्होत्से कम्पनीविरुद्ध पनि मोडिएको थियो । यातायात मजदुरहरुको कार्यक्रम ल्होत्सेले नयाँ बसपार्कभित्र गर्न नदिएपछि सडकमा बस तेस्र्याएर आन्दोलन गरिरहेका मजदुरहरुको आन्दोलन तोडफोड र आगजनीजस्ता हिंसामा परिणत हुनपुग्यो ।
ट्राफिक प्रहरी र यातायात मजदुरहरुको द्वन्द्वको बीचमा दंगा नियन्त्रण गर्ने प्रहरी परिचालित हुँदा आमसर्वसाधारण थप मर्कामा परे । यातायात मजदुरहरुले बसपार्क तथा आसपासको रिङरोड क्षेत्रमा बस तेस्र्याएर आन्दोलन गर्दा काठमाडौंको उत्तर–पश्चिम क्षेत्रको यातायात नराम्रोसँग प्रभावित हुनपुग्यो । अझ नयाँ बसपार्कमै आन्दोलन भएको कारण काठमाडौं उपत्यकाबाट बाहिर चल्ने यातायात पनि प्रभावित हुन पुग्यो । यसले आम सर्वसाधारणलाई थप सास्ती थपिदियो ।
काठमाडौंका अधिकांश सडकमा सामान्य ट्राफिक संकेत पनि छैन । संकेत नै नभएको ठाउँमा नयाँ चालक आउँदा अलमलमा पर्नु स्वाभाविक हो तर ट्राफिक प्रहरीले तुरुन्त एकै पटक एक हजार पाँच सय रुपैयाँको चिट काट्ने गरेको छ भने कतिपय ठाउँमा चालक सिटमा बसिरहेको बेला ट्राफिक प्रहरीले गाडीको ह्विलमा लक लगाइदिने गरेको छ । यसले ट्राफिक प्रहरीको ज्यादती बढेको प्रस्ट देखिन्छ । तर, कतिपय ठाउँमा नो ट्राफिक एरियामा मानिसका घर तथा कार्यालयका गेटमा गाडी पार्किङ हुँदा पनि ट्राफिकले हटाउने गरेको छैन । अधिकांश ठाउँमा ट्राफिक प्रहरीको दोहोरो भूमिका देखिन्छ भने यातायात मजदुरहरुले काठमाडौंको साँघुरा सडकलाई ख्याल नगर्दा आमसर्वसाधारण मर्कामा पर्ने गरेका छन् ।
ट्राफिक प्रहरीले सार्वजनिक यातायातका सबै गाडीहरु बसपार्क भित्रैबाट सञ्चालन गर्नुपर्ने, ट्राफिक उल्लंघनमा पहिलो पटकमै एक हजार पाँच सय रुपैयाँ जरिवाना लिने, प्रदूषण जाँचमा फेल भएका सवारीसाधनलाई एकै पटकमा एक लाख रुपैयाँसम्म जरिवाना लिनेजस्ता कार्यको यातायात मजदुर र यातायात व्यवसायीले विरोध गर्दै आएका छन् । प्रदूषण जाँचमा फेल भएका गाडीहरुलाई जरिवाना तिराउने सरकारको निर्णय यातायात मजदुर र व्यवसायीले मान्दिन भन्न नमिले पनि उक्त एक लाख जरिवाना रकमप्रति भने सवारीधनी मात्र होइन मजदुरहरु पनि सहमत छैनन् ।
त्यस्तै, ट्राफिक नियम पहिलो पटक उल्लंघन गर्दा पाँच सय, दोस्रो पटकमा एक हजार र तेस्रो पटक उल्लंघन गर्दा एक हजार पाँच सयको जरिवानाको चिट काट्नुपर्नेमा एकै पटक एक हजार पाँचको चिट काट्ने ट्राफिकको निर्णय सडकमा अरुको अधिकार हुँदैन ट्राफिक प्रहरीको मात्रै हैकम चल्छ भन्ने भाश्य स्थापित हुन गइरहेको छ । यातायात व्यवस्थापन गर्नका लागि ट्राफिकका केही नियम कडा पनि हुनुपर्छ तर नेपालको ट्राफिकले पैसा बढी लिनुलाई नै बहादुर देखाउँदा बेलाबखत यस्ता समस्या आउने गरेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका यातायात मजदुरका संगठनहरुले लिखित रुपमा आफ्ना माग राख्दै सार्वजनिक यातायातका साधन काठमाडौंभित्र हडताल गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका थिए । आफ्नो आन्दोलनबारे थप जानकारी दिन ती मजदुर संघ÷संगठनले आइतबार बसपार्कभित्र कार्यक्रम गर्ने तयारी गर्दा ल्होत्सेको व्यवस्थापनले भित्र प्रवेश गर्न नदिएपछि आन्दोलन हिंसातर्फ मोडिएको थियो ।
शान्तिपूर्ण आन्दोलनबाट आफ्ना माग पूरा गर्न दबाब दिनुपर्नेमा यातायात मजदुरहरुले ट्राफिक भ्यान जलाउने, ट्राफिक र जनपद प्रहरीका अस्थायी बिटहरुमा आगजानी गर्ने जस्ता अराजक गतिविधि गरेपछि उनीहरुप्रति सर्वसाधारणको सहानुभूतिमा पनि केही कमि आएको छ । ट्राफिक संकेत र ट्राफिक प्रहरीकै पर्याप्त व्यवस्था नगर्ने अनि ट्राफिक नियम पालना भएन भनेर भन्ने ट्राफिक प्रहरीको व्यवहारप्रति पनि सर्वसाधारण सकारात्मक छैनन् । ‘ट्राफिक प्रहरीले यातायात व्यवस्थापनभन्दा पनि पैसामा ध्यान दिएको छ ।
यातायात मजदुरहरुमा पनि हामीले जुन पनि नियम किन मान्ने भन्ने अहम् बढेको छ’, आइतबार आन्दोलन हेरिरहेका एक सर्वसाधारणले भने, ‘अहिले सडकमा ट्राफिक र यातायात मजदुर दुवैको उद्दण्डता छ । मुखले जे बोल्यो त्यो नियम हुने ट्राफिकको उर्दी र सडकमा आफ्नो मात्र राज चल्नुपर्छ नियम थाहा छैन भन्ने यातायात मजदुरको अराजकता दुवै कानुनी राज्यको न्यूनतम सीमा बाहिर छ । दुवै पक्षले आफूलाई सुधार गर्नुपर्छ ।’
आन्दोलनकारीले आइतबार निजी तथा सार्वजनिक सम्पत्तिको धेरै क्षति गरेका छन् । आन्दोलनभन्दा साथ सम्पत्तिको क्षति गर्नुपर्छ भन्ने मान्यता बोक्नेप्रति सर्वसाधारण नागरिकका पूर्ण समर्थन हुने देखिँदैन ।यातायात मजदुरहरुले चेकजाँचका नाममा ट्राफिक र प्रहरीले दिने प्रशासनिक हैरानी अन्त्य गर्नुपर्ने, पार्किङसहित पिक एण्ड ड्रपको भौतिक पूर्वाधार निर्माण र व्यवस्थापन गर्नुपर्ने, एडभान्स ट्राफिक म्यानेजमेन्ट सिस्टमको सुरुवात गरेर पुरानो प्रणालीको अन्त्य गर्नुपर्ने, राष्ट्रिय यातायात प्राधिकरण गठन गर्नुपर्ने, सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी श्रम र लगानीमैत्री बनाउनुपर्ने लगायतका माग राखेका छन् ।
ती मागप्रति धेरैको समर्थन भए पनि तोडफोड र हिंसाप्रति भने धेरैको समर्थन देखिँदैन । दिनभरको आन्दोलनपछि स्थानीय प्रशासनले आन्दोलनरत यातायात मजदुरका नेताहरुसँग वार्ता गर्ने प्रयास गरे पनि आइतबार वार्ता हुन सकेन । यातायात मजदुरहरुले सोमबार काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने बताएका छन् । सरकारले पनि नयाँ बसपार्क क्षेत्रको सुरक्षाको लागि सशस्त्र प्रहरी परिचालन गरेर यातायात मजदुरका अराजक गतिविधिलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । ‘यातायात मजदुरका मागप्रति हाम्रो गुनासो रहेन’, एक सुरक्षाकर्मीले भने, ‘माग सम्बन्धित निकायमा वार्ताबाट समाधान होला त्यो हाम्रो चासो रहने । तर, आन्दोलनको नाममा हुने हिंसात्मक गतिविधि रोक्न सुरक्षाकर्मी तयार छ ।’