काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्राप्त हुने नियम ल्याउन लागेको भन्दै आपत्ति जनाएको छ । टीआई नेपालले एक विज्ञप्ति जारी गरी नेपाल सरकारले २०७९ माघ २७ गते संसद् सचिवालयमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएकामा ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४’ को मूल उद्देश्य नै अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरणको निवारण भएकाले ऐनको मूल मर्म र उद्देश्य प्रतिकूल हुनेगरी ‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्रदान गरिने अर्थात् अवैध तरिकाले आर्जित धनलाई स्वतः वैध तुल्याइने बाटो’ प्रस्तावित संशोधन विधेयकले नखोलोस् भन्नेतर्फ सजग रहन सांसद र संसद्को ध्यानाकर्षण गराएको अध्यक्ष पद्मिनी प्रधानाङ्गले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।