दोलखा । दोलखामा यस वर्ष हिउँद सकिनलाग्दा समेत हिउँ नपरेपछि जिल्लाको पर्यटन र कृषि क्षेत्रका व्यवसायी मारमा परेका छन् । फागुन सुरु हुँदा समेत दोलखा हिउँदे वर्षा र हिमपात नहुँदा यहाँका किसानसँगै होटल व्यवसायी चिन्तित बनेका हुन् ।
प्रमुख धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोक क्षेत्रमा हालसम्म हिम्पात भएको छैन । गतवर्षहरूमा यहाँ यतिबेला हिउँसँग रमाउने पर्यटकको घुइँचो हुन्थ्यो । सधैँ खचाखच देखिने कालिञ्चोक हिजोआज सुनसान छ । मंसिरदेखि वैशाखसम्म दैनिक भरिभराउ देखिने कालिञ्चोक हिउँ नपरेकै कारण सुनसान देखिएको कालिञ्चोक मन्दिर संरक्षण समितिका अध्यक्ष सुक्मान तामाङले बताए । हिजोआज दैनिक सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरे पनि कालिञ्चोक नबसी फर्किने गरेको उनको भनाइ छ ।
माघ महिनाको अन्तिम शनिबार करिब पाँच सय पर्यटक कुरी आएर फर्केको तामाङले बताए । त्यसबाहेकका दिनमा खासै पर्यटक कालिञ्चोक पुगेका छैनन् । विगतका वर्षहरूमा दैनिक लाखौँ कमाउने यहाँका होटल व्यवसायी हिजोआज रित्तो हात बस्नुपरेको गुनासो गर्दै आएका छन् । हिमपात नहुँदा माथिल्लो क्षेत्रका किसान समेत मारमा परेका छन् । हिउँदे पानी नपर्दा कालिञ्चोक, शैलुङ, गौरीशंकर, जिरी खरिढुङ्गालगायतका क्षेत्रका आलु किसान चिन्तित बनेका हुन् ।