काठमाडौं । स्किल सेवा प्रालिले चितवनमा पनि आफ्नो शाखा विस्तार गरेको छ । कम्पनीले चितवन लायन्स चोकमा एक कार्यक्रमको आयोजना गरी शाखा कार्यालयको उद्घाटन समेत गरेको छ ।
चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज रानाभाट, कान्तिपुर कलेजका प्राध्यापक श्याममणि कडेलको पनि उपस्थिति थियो । कार्यक्रम स्किल सेवा प्रालिका संस्थापक महेश तिमिल्सिना र कम्पनीका बजारीकरण तथा बिक्री विभाग प्रमुख सफल प्रधानले सहजीकरण गरेका थिए ।
स्किल सेवाका बजारीकरण तथा बिक्री विभाग प्रमुखले चितवनमा १०० भन्दा बढी प्रि—बुकिङ्ग रहेको र उनीहरुबाट नै काम सुरु गरिने जानकारी दिए । स्किल सेवा प्रालि नयाँ घर निर्माण, घर मर्मतसम्भारको क्षेत्रमा विगत पाँच वर्षदेखि काम गर्दै आएको विश्वसनीय कम्पनी हो । स्किल सेवाले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र पोखरामा सेवा प्रदान गरिरहेको छ ।