काठमाडौं, चैत २
यस साता सेयर बजार परिसूचक १३ सय ७७ दशमलव १८ अंकमा पुगेर रोकिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ९५ दशमलव ५० अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ८० कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ५५ हजार छ सय ८१ वटा कारोबारमा एक करोड ४० लाख ४८ हजार नौ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम पाँच अर्ब ५० करोड ४४ लाख ४० हजार एक सय ७२ रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुलनामा झण्डै १० अर्ब रुपैयाँले कम हो ।
गत भने साता धितोपत्र बजारमा एक सय ७९ कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार तीन करोड ८४ लाख २६ हजार सात सय २४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १६ अर्ब २१ करोड ९० लाख ५४ हजार सात सय ८२ रुपैयाँको कारोबार भएको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष तीन कार्य दिन मात्र खुल्ला रहेको थियो । सो मध्ये पहिलो र दोस्रो दिन सार्वजनिक बिदा परेकाकारण कारोबार कक्ष बन्द रहेको थियो । यी बाहेक तेस्रो र पाँचौं दिन सेयर बजार ओरालो लागेको थियो भने चौथो दिन बजार परिसूचक उकालो लागेको थियो ।
जसमध्ये तेस्रो दिन पनि बजार परिसूचक ओरालो लागेको थियो । उक्त दिन बजार परिसूचक ८६ दशमलव ३९ अंकले ओरालो लागेर १३ सय ४९ दशमलव ३१ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ३५ अंकले ओरालो लागेर दुई सय ९० दशमलव ३६ अंकमा झरेको थियो । चौंथो दिन भने बजार परिसूचक ७३ दशमलव ७८ अंकले उकालो लागेर १४ सय २३ दशमलव नौ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ३३ अंकले उकालो लागेर तीन सय चार दशमलव ६९ अंकमा चढेको थियो ।
अन्तिम कारोबार दिन पनि बजार परिसूचक ४५ दशमलव ९१ अंकले ओरालो लागेर १३ सय ७७ दशमलव १८ अंकमा झरेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव १९ अंकले ओरालो लागेर दुई सय ९५ दशमलव ५० अंकमा झरेको थियो । यस साता बढी रकम कारोबार गर्ने नेपाल इन्स्योरेन्स कम्पनी, एनएआईसी एसिया बैंक, एनएमबी बैंक हिमालयन डिष्ट्रिलरी प्र्रालि आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने यस साता एनएमबी बैंक, एनआईसी एसिया बैंक, ग्लोवल आईएमई बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । नेप्सेका अनुसार यस साता स्वरोजगार लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सको बोनस सेयर सुचीकृत भएका छन् ।