काठमाडौं,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले अर्जुनजंग थापालाई मन्त्रालयमा ल्याएर सुशीलबाबु ढकाललाई महानिर्देशक बनाएको हो । थापा दोहो¥याएर महानिर्देशक भएका थिए । सडक विभागकै एडीबी प्रोजेक्टमा रहेका ढकाललाई महानिर्देशक बनाएसँगै अन्य सहसचिवहरुको पनि मन्त्रालयले जिम्मेवारी हेरफेर गरेको छ ।
केही दिनअगाडि सुई (सहसचिव)मा बढुवा भएकाहरुको जिम्मेवारी पनि तोकेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘महानिर्देशक मात्र होइन अन्य सुई (सहसचिव) को पनि स्थान परिवर्तन गर्नुको साथै नयाँलाई जिम्मेवारी तोक्ने काम पनि भएको छ’, मन्त्रालयका ती अधिकारीले भने, ‘नयाँ आएकाहरुलाई जिम्मेवारी दिँदा परिवर्तन हुनु स्वाभाविक हो ।’
स्रोतका अनुसार नयाँ आएका महानिर्देशकसमेतको सहमति र छलफलबाट सुईहरुको जिम्मेवारी हेरफेर गरिएको छ । विभागको महानिर्देशक पछिको महत्वपूर्ण स्थान योजना महाशाखाको साथै सम्भार महाशाखा, पुल महाशाखा, हुलाकी राजमार्ग निर्देशनालय, एडीबी, वैदेशिक, गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, क्षेत्रीय कार्यालयहरुमा पनि प्रमुख परिवर्तन भएका छन् ।