महेन्द्रनगर । नेपाल भारत सिमानामा रहेको बनबासा गड्डाचौकी नाकाबाट पछिल्लो समय गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार व्यापक रुपमा हुनथालेको छ । प्रहरी र प्रशासनको आँखै अगाडिबाट खुलेआम रुपमा दिल्ली, महेन्द्रनगर चल्ने बसबाट व्यापक रुपमा अवैध मोटर गाडीका नक्कली पार्टपुर्जाको ओसारपसार भइरहँदा नेपालका व्यापारीहरु ठूलो मारमा परेका छन् ।
यस्तै उपभोक्ता ठगिनुको साथै सरकारले पनि ठूलो राजस्व गुमाइरहेको छ । दैनिक रुपमा आवतजावत गर्ने सयौँ बस तथा अन्य गाडीहरु तथा साइकल, मोटरसाइकलमा व्यापक रुपमा पार्टपुर्जाको तस्करी भइरहँदा पनि भन्सार कर्मचारी तथा प्रहरी प्रशासन केही सय रुपैयाँको प्रलोभनमा आँखा चिम्लिने गरेको व्यवसायीहरुको आरोप छ । यस्ता कार्यलाई निरुत्साहन नगर्ने हो भने यस क्षेत्रका व्यवसायीहरु पलायन हुने अवस्थामा पुग्ने, सरकारी राजस्व ठप्प हुने साथसाथै नक्कली पार्टपुर्जाको प्रयोगले सवारीसाधन दुर्घटना बढी व्यापक धनजनको क्षति हुने अवस्था आउने व्यवसायीहरुको भनाइ छ ।