काठमाडौं । नेपाल नेत्रज्योति संघ र सीबीएम ग्लोबलबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । प्रदेश नम्बर १ र मधेश प्रदेशमा गरिबीको रेखामुनि रहेका आमनागरिकहरुलाई गुणस्तरीय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि दुई संस्थाहरुका बीचमा सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्राडा चेतराज पन्त र सीबीएम ग्लोबलका तर्फबाट कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द, सदस्य पद्मनारायण चौधरी तथा सीबीएम ग्लोबलका, कन्ट्री डाइरेक्टर सुरज सिग्देलको उपस्थिति थियो । सीबीएम ग्लोबलको सहयोगमा संघको पूर्वाञ्चल क्षेत्रीय आँखा तथा कान उपचार कार्यक्रममार्फत प्रदेश नम्बर १ र मधेश प्रदेशका सीमान्तकृत समुदायका र गरिबीको रेखामुनि रहेका नागरिकहरुलाई निःशुल्क रुपमा आँखा तथा कान उपचार सेवा प्रदान गरिनेछ । दुई संस्थाहरुबीचको सहकार्यमा आँखा तथा कान उपचारको पहुँचबाट टाँढा रहेका सो क्षेत्रका नागरिकहरुलाई आँखा अस्पताल, आँखा उपचार केन्द्रहरु तथा बाह्य कार्यक्रममार्फत उपचार सेवा प्रदान गरिने संघले जनाएको छ ।
नेत्रज्योति संघ र सीबीएम ग्लोबलका बीचमा नेपालमा आँखा उपचार सेवालाई जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरीय सेवा प्रदान गर्न विगत ४० वर्षदेखि सहकार्य भइरहेको छ । ‘हाम्रो ४० वर्षदेखिको सहकार्यमा यो सम्झौताले थप इँट्टा थप्ने काम गरेको छ र यो कार्यक्रमको कार्यान्वयनले सो क्षेत्रका नागरिकहरुले आफ्नो घर आँगनमै निःशुल्क आँखा तथा कान उपचार सेवा प्राप्त गर्नेछन् जसले उनीहरुको आर्थिक सामाजिक जीवनमा ठूलो परिवर्तन ल्याउने हाम्रो विश्वास छ’, नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रले भने । यस्तै सीबीएम ग्लोबलका कन्ट्री डाइरेक्टर सुरज सिग्देलले नेपालको आँखा उपचार र अन्धोपन नियन्त्रणको क्षेत्रमा गरिरहेको कामकै कारण विगत ४० वर्षदेखि विभिन्न कार्यक्रममार्फत संघसँग सहकार्य गरिरहेको र आगामी दिनहरुमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने नेत्रज्योति संघको लक्ष्यलाई यो सहकार्यले ठूलो सहयोग पु¥याउने संघका अध्यक्ष पन्तले बताए । अहिले पनि नेपालमा कतिपय जनताहरु आर्थिक अभावकै कारण दृष्टिविहीनतामा बसिरहेको भन्दै उनले यस्तै संघ-संस्थाहरुको सहकार्यमा नेपालबाट २०३० सम्ममा उपचारपछि निको हुने अन्धोपनको निवारण हुने विश्वास व्यक्त गरे । हाल कर्णाली प्रदेशमा नेत्रज्योति संघ र सीबीएमको सहकार्यमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालनमा छ । उक्त कार्यक्रमबाट सन् २०२२ मा मात्र तीन हजार ८० जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरुमार्फत नागरिकहरुलाई सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।