काठमाडौं । क्यानडा र कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । क्यानडा पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने २९ वर्षीय लक्ष्मण थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यस्तै कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दैलेख भगवतीमाई गाउँपालिका-२ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
थापाले पीडितलाई वैदेशिक रोजगारीको लागि क्यानडा जानको लागि २३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ हुने काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।
यसैगरी, सिंहलाई विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा क्यासिनोको सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी उक्त रुपैयाँ ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबु बिजिमलबाट पक्राउ गरेको हो ।
थप अनुसन्धान तथा कारवाहीको लागि थापालाई वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ भने सिंहलाई जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।