काठमाडौं । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ सि.सं.२९ का तालिमरत ९२ जना अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन गरेका छन् । अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले स्वागत मन्तव्य व्यक्त गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गरे । अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक दिप शम्शेर राणाले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । साथै उनले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताए । तालिमरत अधिकृतहरूमा ३ जना महिला र ८९ जना पुरूषको सहभागिता रहेको थियो । जसमध्ये अमेरिका, बेलायत, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, केन्या र नाईजेरीयाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूकोसमेत सहभागिता रहेको थियो ।