काठमाडौं,आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको छ । नामेबियाले दिएको दुई सय ७५ रनको विशाल लक्ष्य नेपालले ७ विकेट गुमाई पुरा गर्न सफल रहयो । नेपाललाई जित दिलाउन आशिफ शेख ८१,ज्ञानेन्द्र मल्ल ६५, कुशल मल्ल ६२, रोहित पौडेल ३९ र सोमपाल कामी नटआउट ८ रन हान्दै नेपाललाई जित दिलाउन सफल रहे । नामिबियाले नेपालसामु जितका लागि दुई सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ७४ रन बनायो । नामिबियाका लागि जान ग्रिनले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६३ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, नामिबियाका अर्का खेलाडी पिकीं या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै करण केसीले एक विकेट लिए । यसअघि यही फागुन २ गते भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अब नेपालले आफ्नो अन्तिम खेल यही फागुन ९ गते स्कटल्याण्डसँग खेल्नेछ ।