काठमाडौं,काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाका मेयर रमेश नापितविरुद्ध महिला हिंसा गरेको भन्दै उजुरी परेको छ । मेयर नापितले गत पुस २९ गतेदेखि घरमा बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिने गरेको भन्दै आफ्नै श्रीमती सरिता महर्जन नापितले सोमबार राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गराएकी छिन् । नापित परिवारसँग गत असार २४ गते मागी विवाह गरेकी सरिताले ठूलो परिवारसँग विवाह गर्दा समस्या पर्छ भनेर बिहे नगर्ने भन्दाभन्दै मेयर नापितका दाजुभाउजु हरिकृष्ण नापित र उर्मिला नापितले जबर्जस्ती विवाह गराएको र विवाहपश्चात् आफूले आमाजु सरस्वती नापितको साथै मेयर समेत रहेका पति रमेश नापित र उनका पूर्वपत्नीको छोरा राजेश नापितले घरमा बन्धक बनाएर राखेको, शारीरिक, मानसिक तनाव दिएको, खान समेत नदिई कुटपिट गरी आफ्नो बंगारा (दाँत) समेत झारेको, २÷३ लाख दिएर घरबाट निकाल्न खोजेको लगायतको आरोप उजुरीमा लगाइएको छ । मेयर नापितको पहिलो विवाह समेत घरेलु हिंसाकै कारण छुटेको थियो । पहिलो विवाहबाट भएका दुई छोराहरुमध्ये एक विदेशमा रहेको र अर्को छोरोले समेत लगातार कुटपिट गर्ने गरेको मेयर पत्नी महर्जनले दर्ता गरेको उजुरीमा उल्लेख छ ।राप्रपा नेपालबाट शंखरापुर नगरपालिकाको मेयर जितेका रमेशले घरकै एक कोठामा आफूलाई बन्धक बनाएर राखेको र बाहिर गएको खण्डमा गेट नखुल्ने धम्की दिने गरेकोले जेल जीवन बिताइरहेको समेत उजुरीमा उल्लेख छ । उजुरीमा विवाहलगत्तै मेयर रमेशलाई विवाह दर्ता गरौँ भन्दा नमानेकोले आफ्नो विवाह दर्ता समेत नभएको उल्लेख छ । यस विषयमा बुझ्न मेयर रमेशलाई सम्पर्क गर्दा उनले पत्नी आफूबाट पीडित नभई आफूचाहिँ पत्नीबाट पीडित रहेको बताए । राम्रो मान्छे भनेर विवाह गरेको पत्नीको पेसा नै विवाह गर्ने र छोड्ने रहेकोले आफ्नो पत्नीबाट परिवारले नै दुःख पाइरहेको भन्दै उनले आफ्नो पत्नीले लगाएको आरोप सबै गलत रहेको बताए । त्यस्तै मेयरको दिदीलाई सम्पर्क गर्दा मोबाइल स्विच अफ रहेको थियो भने मेयर नापितको पूर्वपत्नीको छोरा राजेश नापितले आफ्नो सानुआमा सरिता महर्जनले भनेको कुराहरुमा कुनै सत्यता नभएको बताए ।