दोलखा । जिल्लाको विगु गाउँपालिकामा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको स्वास्थ्य शिविर कार्यक्रममा सात सयभन्दा बढीले सेवा लिएका छन् । गाउँपालिकासँगको सहकार्यमा सहकारीले पालिकाको वडा नम्बर ५, ६, ७ र ८ मा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
शिविरमा सात सय ३३ जनाले पाठेघर तथा प्रजनन स्वास्थ्य तथा जनरल स्वास्थ्यसम्बन्धी सेवा लिएको सहकारीका व्यवस्थाक नवराज दाहालले जानकारी दिए । शिविरका लागि आवश्यक प्राविधिक सहयोग भने समुद्र नेपाल नामक गैरसरकारी संस्थाले उपलब्ध गराएको हो । दुई दिनसम्म चलेको शिविरको पहिलो दिन सोमबार वडा नम्बर ५ खार्तलस्थित सामुदायिक स्वास्थ्य केन्द्र र वडा नम्बर ८ को खोपाचागु स्वास्थ्य चौकीमा गरी करिब चार सय जनाले सेवा लिएका थिए । दोस्रो दिन मंगलबार वडा नम्बर ६ को आलम्पु स्वास्थ्य चौकी र वडा नम्बर ७ को स्वास्थ्य चौकीमा करिब तीन सय ५० जनाले निःशुल्क स्वास्थ्य जाँच तथा आवश्यक औषधिको सुविधा लिएको संस्थाका प्रमुख व्यवस्थापक दहालले जानकारी दिए ।
शिविरमा काठमाडौंस्थित ग्राण्डी अस्पतालका जनरल फिजिसियन डाक्टर राजिव थपलिया र प्रिया शेर्पा, वीर अस्पतालका सर्जन डाक्टर विजयकुमार शाह, प्रसूति गृह थापाथलीका स्त्री रोग विशेषज्ञ बबिता शाह, इशान अस्पतालका स्त्री तथा बाल रोग विशेषज्ञ डाक्टर पिंकी शाह, विगु अस्पतालका डाक्टर प्रतिक कुमार ठाकुरलगायतले स्वास्थ्य जाँच तथा परामर्श सेवा दिएका थिए । शिविरका क्रममा स्त्री रोगसँग सम्बन्धित केही गम्भीर प्रकृतिका बिरामीहरू समेत फेला परेको र उनीहरूलाई गाउँपालिकाले आवश्यक समन्वय गरी थप उपचारको व्यवस्था गर्ने पालिकाका स्वास्थ्य संयोजक रत्नबहादुर थामीले जानकारी दिए ।
सोमबार गाउँपालिकाका उपाध्यक्ष देविका थामीको उपस्थितिमा खोपाचागुमा औपचारिकरूपमा सुरु भएको शिविर मंगलबार आलम्पुमा समापन गरिएको हो । समापन कार्यक्रममा जनसचेतन साकोसका अध्यक्ष हेमन्त कुमार चौलागाईंले सहकारीले वित्तीय कारोबार मात्र नभई सामाजिक उत्तरदायित्वका कामहरू पनि गर्ने सिलसिलामा शिविरको आयोजना गरिएको बताए । शिविरबाट प्राप्त उपलब्धिले आफूहरूलाई आगामी दिनमा पनि यस्तै गतिविधि गर्न प्रेरित गरेको उनको भनाइ थियो । दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन साकोसले विगु गाउँपालिकामा मात्रै तीनवटासहित जिल्लाभर १६ र राजधानी काठमाडौंमा एक गरी १७ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । झण्डै ४० हजार सदस्य आबद्ध उक्त संस्थाको गत माघ महिनासम्मको कारोबार दुई अर्ब ३४ करोडभन्दा बढी रहेको छ ।