काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने भएको छ । विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली जडान भएसँगै राति पनि सहज रूपमा जहाज उडान र अवतरण गर्न सकिने भएको हो ।
बुद्ध एयरको जहाज आइएफआर प्रणालीबाट बिहानको पहिलो फ्लाइट विमानस्थलमा अवतरण गरिसकेको विमानस्थलले जानकारी दिएको छ । उक्त प्रणालीबाट यतीले पनि शुक्रबार जहाज उडान र अवतरण गर्ने तयारी छ । आइएफआर प्रणाली जडान भएसँगै ‘अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घन्टा सेवा दिन तयार रहेको पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए । यसअघि दिउँसो ४ बजेसम्ममात्रै उडान हुँदै आएको थियो ।
रात्रिकालीन उडानका लागि तयार भए पनि विमानस्थलबाट क्यालिब्रेसन फ्लाइट गरेर उद्धाटन गरिए पनि प्राधिकरणबाट हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले उडान भर्ने अनुमति पाएका छैनन् । केही दिनअघि विमानस्थल अनुगमनमा आएका पर्यटनमन्त्री सुदन किरातीले अन्तर्राष्ट्रियस्तरमा हवाइ सेवा सुरु गर्न कुटनीतिक पहल भइरहेको जनाएका थिए ।