काठमाडौं, चैत ४
कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई सरकारले तीन किसिमको भत्ताको व्यवस्था गरेको छ । डाक्टर र नर्सलाई सरकारले ७५ प्रतिशत भत्ता दिने भएको छ भने कोरोनाको उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत र अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिनेछ । सोमबार सिंहदबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले तीन किसिमको भत्ता दिने निर्णय गरेको हो । उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरुका लागि २० हजार थान सेफ्टी किट (पीपीपी) खरिद गर्ने निर्णय पनि सरकारले गरेको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिमपूर्ण मुलुक भने पनि नेपालमा अहिलेसम्म कोरोना भाइरस देखा परेको छैन । यस्तै, उच्चस्तरीय समन्वय समितिको बैठकले काठमाडौं उपत्यकामा थप एक सय २० र बाहिर एक सयवटा आईसीयू बेड तयार पार्ने निर्णय पनि गरेको छ । बैठकले एक हजार आइसोलेटेड बेड बनाउने निर्णय पनि गरेको छ । कोराना लागेको आशंका भएकाहरुलाई ती बेडमा राखिने छ ।