काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्त सम्वन्धी एकीकृत निर्देशन, २०७८ मा गरेको संशोधनको प्रभाव सेयर बजारमा देखिएको छ । सोही कारण साताको अन्तिम कारोबार दिन आज बिहिबार ५७ दशमलव ७४ अंकले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ बिन्दुमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ९८ अंकले ओरालो लागेर तीन सय ८४ दशमलव ३६ बिन्दुमा झरेको छ । आज सबै किसिमका गरी दुई सय ६० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ४८ हजार एक सय पाँच पटकको कारोबारमा ६३ लाख २६ हजार एक सय पाँच कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५२ करोड २७ लाख १३ हजार एक सय ५३ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।