काठमाडौं, चैत ४
नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँग परिसंघ कार्यालयमा भएको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा उत्पादनमूलक तथा सेवा उद्योगको प्रतिनिधित्व गर्ने संगठन भएकाले पुँजी बजारको विकास तथा सुधारका लागि परिसंघ तत्पर रहेको बताए ।
अध्यक्ष मोरले बोर्डमा नयाँ नेतृत्व आएपछि पुँजी बजारमा देखिएको सुधारको गतिलाई निजी क्षेत्रले स्वागत गरेको पनि उल्लेख गरे । सेयर कारोवारको समय बढाइएको तथा लगानीकर्ताको हितअनुकूलका व्यवस्थाहरु अघि बढाएकोमा पनि अध्यक्ष मोरले निजी क्षेत्र उत्साहित भएको बताए । यसैगरी परिसंघले नेपाल सरकारका दुई दर्जनभन्दा बढी निकायमा आधिकारिक प्रतिनिधित्व गर्दै नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनमा सघाउँदै आएको उल्लेख गर्दै अध्यक्ष मोरले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा परिसंघको प्रतिनिधित्वको व्यवस्था गरी थप सहकार्यका लागि समेत आग्रह गरे ।
सो अवसरमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पुँजी बजारको विकास र सुधारका लागि थप पहलहरु लिइरहेको बताए । हालै बोर्डले कार्यान्वयनमा ल्याएको विशिष्टीकृत लगानी कोष नियमावलीले स्वदेशी तथा गैर–आवासीय नेपाली लगायत वैदेशिक पुँजी समेत परिचालनलाई सहज बनाएकाले यसमा सहभागिता बढाउन पनि अध्यक्ष ढुंगानाले आग्रह गरे ।
धितोपत्र बजारमार्फत पुँजीको सृजना तथा परिचालनलाई महत्व दिएर उत्पादनमूलक र अन्य क्षेत्रको सहभागिता बढाउँदै सेयर बजारलाई थप सन्तुलित बनाउन आवश्यक रहेकोले परिसंघको सहयोग महत्वपूर्ण रहने पनि अध्यक्ष ढुंगानाले उल्लेख गरे । सो भेटघाट कार्यक्रममा परिसंघका राष्ट्रिय परिषद् सदस्य तथा चितवन उद्योग संघको निवर्तमान अध्यक्ष भेषराज दुवाडीसहित परिसंघ अधिकारीहरुको उपस्थिति थियो ।