पाँचथरमा आगलागीमा परी दुई बालकको ज्यान गएको छ । हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम नगरपालिका–५ का सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको जलेर मृत्यु भएको हो । परिवारका सबै सदस्य घाँस दाउरामा गएको समयमा आज दिउँसो अन्दाजी ४ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ । राससका अनुसार आगलागीमा मतान घरको माथिल्लो तलाको कुनामा पहिचान हुन नसक्ने अवस्थामा बालकहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । आगलागीमा मतान घर पूर्णरूपमा जलेको छ । आगलागीको कारण खुलेको छैन । मृतक फिदिम–५ का बालक मावली घर गएको बुझिएको छ । घटनाको विस्तृत विवरण आएको छैन । तेह्रथुममा आगलागी, चौध घर पूर्णरूपमा क्षति तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए । राससका अनुसार नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । अहिले आगो नियन्त्रणबाहिर रहेको छ । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगो निभाउन भर्खरै फिदिम नगरपालिकाको दमकल घटनास्थल आइपुगेको छ ।