काठमाडौं, चैत ४
एनआईसी एसिया बैंक लिमिटेडका ग्राहकहरूलाई काठमाडौँंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका हुुन् ।
सम्झौताअनुसार एनआईसी एसिया बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरेबापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै बैंकका कर्मचारीहरूलाई पनि सो योजनाअनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहकहरूले देशभरका दुुई हजार चार सयभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको मुलुकभर तीन सय १९ शाखा कार्यालयहरू, चार सय ५४ एटीएम, एक सय आठवटा एक्स्टेन्सन काउन्टर एवं ६० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान उपलब्ध गराउँदै आएको छ । करिब २१ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रूपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।