काठमाडौं, चैत ४
सिभिल बैंकले काठमाडौँको टोखामा पनि शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँ जिल्लाको टोखामा शाखा सञ्चालनमा ल्याएको हो । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको समुद्घाटन गरेका हुुन् ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत टोखा नगरको सरसफाइको लागि ३० थान डस्टबिन हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । सो डस्टबिन सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङद्वारा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीलाई प्रदान गरियो । साथै टोखा नगरपालिकाको ऐतिहासिक पोखरी नारायण पोखरीको पनि सफाइ गरिएको थियो ।
उक्त अवसरमा सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोलाबहादुर विष्टले सिभिल बैंक टोखा शाखाले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानीयहरूलाई उच्चस्तरीय बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागि साना तथा मझौला व्यापार व्यवसायलगायत अन्य व्यक्तिगत कर्जाहरू जस्तैः घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जाजस्ता क्षेत्रमा लगानी बढाउने बताए ।
टोखा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ऐतिहासिक नगरी टोखाको वित्तीय पहुँच वृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पु-याउने कुरा बताए । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखामा शाखा स्थापनासँगै व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे । उक्त समारोहका सभापति तथा सिभिल बैंकका तथा कार्यक्रमका सभापति अध्यक्ष ई. ईच्छाराज तामाङले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिताविना आर्थिक समृद्धि सम्भव नहुने बताए ।
उक्त शाखाको उद्घाटन समारोहमा बैंकका अध्यक्ष ई. ईच्छा राजतामाङ, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, काठमाडौँ उपत्यका विकास प्रधिकरणका आयुक्त डा. भाइकाजी तिवारी, सिभिल बैंकका सञ्चालक समितिका सदस्यहरू अम्बिर बोगटी, भिमानन्द ढुंगाना, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी, टोखा नगरपालिकाका उप–प्रमुख ज्ञान माया डंगोल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रहरी नायब निरीक्षक सोभित अर्याल, महानगरीय ट्राफिक प्रहरी प्रभाग, टोखाका प्रहरी सहायक निरीक्षक योगेन्द्रसिंह खड्का, टोखा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्ण अधिकारी, टोखा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपकराज जोशी, टोखा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठलगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।
बैंकले हालसम्म चार लाख ३० हजारभन्दा बढी ग्राहकहरू रहेको करिब ५४ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५२ अर्ब कर्जा लगानी गरेकोे बैंकको एक सय १२ वटा शाखाहरू तथा दुुई वटा एक्स्टेन्सन काउन्टर र पाँचवटा शाखारहित बैंकिङ सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएका बैंकले जनाएको छ ।