काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने जानकारी दिएकी हुन् । सम्मेलनका क्रममा उनी संयुक्त राष्ट्रसङ्घका केही कार्यक्रममा पनि सहभागी हुने प्रवक्ता लम्सालले जानकारी दिइन् । दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुनेछन् । एलडिसिजको पाँचौँ सम्मेलनका क्रममा विषयगत आठ गोलमेच बैठक हुने र त्यसमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्नेछन् । सम्मेलनको ‘जनलर डिबेट’का क्रममा प्रधानमन्त्री दाहालले २६औँ वक्ताका रुपमा राष्ट्रिय सम्बोधन गर्ने प्रवक्ता लम्सालले बताइन्। नेपाली प्रतिनिधिमण्डलले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिमा रहेका नेपाल, बङ्गलादेश र लाओसबीच हुने साइड इभेन्टमा समेत सहभागिता जनाउनेछ । ४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्कने छन् ।