काठमाडौं । ज्योति विकास बैंकको १५औँ वार्षिक साधारणसभा आइतबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको छ । सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था समेत गरिएको थियो ।
सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरूलाई हाल कायम भएको चुक्ता पुँजीको तीन प्रतिशत बोनस सेयर तथा तीन दशमलव आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले तीन प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार पुगेको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकका प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरूउपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले बैंकको आव २०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि.को आव २०७८/७९ को वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ ।