काठमाडौं । जबर्जस्ती करणी अभियोगमा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुने भएका छन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट रिहा हुन लागेपछि दमौलीमा उनलाई स्वागत गर्न समर्थकको भीड लागेको छ । समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।
एक गायिकाले सुटिङका क्रममा शाहले आफूमाथि बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।