काठमाडौं,काठमाडौंको शंखरापुर नगरपालिकाका मेयर रमेश नापितकी श्रीमती सरिता महर्जन नापितलाई राष्ट्रिय महिला आयोगले सेफ हाउसमा राखेको छ । पति रमेशले महिला हिंसा गरेको भन्दै गत फागुन ८ गते सरिताले राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा उजुरी गरेकी थिइन् । सोही कारण आयोगले सेफ हाउमा राखेको हो ।
मेयर रमेश तथा मेयरपत्नी सरितालाई मंगलबार बयानको लागि बोलाएको महिला आयोगले मेयरपत्नी सरितालाई भने काठमाडौंको सिनामंगलस्थित शुभसमाचार सेवागृहमा पठाएको हो ।
दोस्रो विवाह गरेका मेयर नापित राप्रपाबाट मेयरमा चुनाव जितेका थिए । दुई छोराको बुबा समेत रहेका मेयर रमेशले आफ्नो दिदीसँग मिलेर पत्नी सरितालाई पुस २९ गतेदेखि घरमा नै बन्धक बनाएर राखेको तथा कुटपिट गरेको आयोगमा बुझाइएको उजुरीमा उल्लेख गरिएको छ ।
नापित परिवारसँग गत असार २४ गते मागी विवाह गरेकी सरिताले ठूलो परिवारसँग विवाह गर्दा समस्या पर्छ भनेर बिहे नगर्ने भन्दाभन्दै मेयर रमेशका दाजुभाउजु हरिकृष्ण र उर्मिलाले जबर्जस्ती विवाह गराएको र विवाहपश्चात् आफूले आमाजु सरस्वती नापित मेयर समेत रहेका पति रमेश र उनका पूर्वपत्नीपट्टिका छोरा राजेश नापितले शारीरिक, मानसिक तनाव दिएको, खान समेत नदिई कुटपिट गरी आफ्नो दाँतको बंगारासमेत झारेको, २÷३ लाख दिएर घरबाट निकाल्न खोजेको लगायत आरोप लगाएकी छिन् । रमेशको परिवारले भने उक्त आरोपको प्रतिवाद गर्दै आएको छ ।