काठमाडौं, चैत ५
नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन संशोधन गर्ने क्रममा महासंघको अनिवार्य प्रतिनिधित्वको लागि आग्रह गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटी निर्माण व्यवसायसँग सम्बन्धित ऐन÷नियमहरु निर्माण व्यवसायमैत्री तथा विकास निर्माणमैत्री नहुँदा विकास निर्माणको क्षेत्रमा देशले फड्को मार्न नसकेको बताएको छ ।
महासंघको सुझावबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ परिमार्जन गर्ने कार्यमा महासंघको समेत अनिवार्य प्रतिनिधित्व गरी गराई पाउनका लागि सम्बन्धित निकायमा आवश्यक पहल गरी दिन प्रतिनिधिमण्डलले मन्त्री नेम्वाङसमक्ष आग्रह गरेको छ । मन्त्री नेम्वाङले समस्या समाधानका लागि सरोकारवाला निकायमा जानकारी गराइने बताए ।
पुँजीगत खर्च तर्फको राष्ट्रको बजेटको करिब ६५ प्रतिशत खर्च गर्ने निर्माण व्यवसाय क्षेत्रको समग्र विकासले मात्र नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना साकार हुन र देश विकास हुन सक्छ भन्ने स्पष्ट धारणा महासंघले अघि सारेको छ । यसैबीच विगत केही समय यता देशका विभिन्न भागमा निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समुहबाट बारम्बार भइरहेको शृंखलाबद्ध आक्रमण तथा आगजनीका घटनाबारे समेत महासंघले मन्त्री नेम्वाङको ध्यानाकर्षण गराएको छ ।
व्यवसायीहरुलाई पेशाबाट नै पलायन गर्ने गरी भएको त्यस्ता आततायी घटनामा संलग्नलाई कारबाहीको दायरामा नल्याएका कारण नै एकपछि अर्को आक्रमण तथा आगजनीका घटना भइरहेको महासंघले जनाएको छ । महासंघले घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको गरी व्यवसायीका उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग माग गरेको छ । पीडित कम्पनीहरुलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन आग्रह गर्दै महासंघले व्यवसायीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गरेको छ ।
व्यवसायीहरु माथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाका लागि महासंघ देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुने जानकारी महासंघले गराएको छ । प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष आङदोर्जी लामा, महासचिव रोशन दाहाल, उपमहासचिव नरहरी थपलिया, कार्यसमिति सदस्य उज्जल गौतम, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लयायतको सहभागिता रहेको थियो ।