काठमाडौं,नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदा बैंक तथा फाइनान्स कम्पनीहरु वित्तीयरुपमा सबल हुने, बैंकिङ क्षेत्रको कार्यगत क्षमता बढ्न, राष्ट्र बैंकलाई नियमन तथा अनुगमनको लागि पनि सहज हुने र बैंकिङ क्षेत्रको खर्च पनि घट्ने अपेक्षा गरेको थियो ।
सोही अपेक्षाअनुसार राष्ट्र बैंकले मर्जर तथा प्राप्तिसम्बन्धी व्यवस्थालाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याएको थियो । मर्जर तथा प्राप्तिकै कारण अहिले बैंक तथा फाइनान्स कम्पनीहरुको संख्या घट्दा यसले वित्तीय क्षेत्रलाई थप सबल, व्यवस्थित र मर्यादित बनाएको छ । तर यसले अपेक्षा गरेअनुसार बैंकिङ क्षेत्रको खर्च भने घट्न नसकेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्ससहितका ५६ वटा संस्थाहरुले कर्मचारीको पारिश्रमिक र कार्यालय व्यवस्थापनमा मात्र कुल ४५ अर्ब सात करोड ६० लाख रुपैयाँ खर्च गरेको देखिएको छ ।
बैंकिङ क्षेत्रले गरेको यो खर्च गत आवको सोही अवधिको तुलनामा एक अर्ब २१ करोड १० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्ससहितका ६१ वटा संस्थाहरुले कर्मचारीको पारिश्रमिक र कार्यालय व्यवस्थापन शीर्षकमा मात्र कुल ४३ अर्ब ८६ करोड ५० लाख रुपैयाँ खर्च गरेको देखिएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आवको पुस मसान्तसम्ममा कर्मचारी शीर्षकमा २७ अर्ब ८० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा १८ अर्ब छ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा भने यी दुई शीर्षकमा बैंक तथा फाइनान्स कम्पनीहरुले गरेको खर्च रकम क्रमशः २६ अर्ब ३२ करोड ७० लाख र १७ अर्ब ५३ करोड ८० लाख रुपैयाँ थियो ।
चालू आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र कुल ३८ अर्ब ९६ करोड २० लाख रुपैयाँ खर्च गरेका छन् । जसमध्ये कर्मचारी शीर्षकमा २३ अर्ब ५३ करोड ६० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा १५ अर्ब ४२ करोड ६० लाख रुपैयाँ खर्च भएको देखिएको छ । बैंकहरुले गरेको यो खर्च गत आवको सोही अवधिको तुलनामा ४७ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले कर्मचारी शीर्षकमा २३ अर्ब ३० करोड ९० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा १५ अर्ब १८ करोड ३० लाख रुपैयाँ समेत गरी कुल ३८ अर्ब ४९ करोड २० लाख रुपैयाँ खर्च गरेका छन् । विकास बैंकहरुमा भने पछिल्लो अवधिमा खर्च बढेको छ ।
चालू आवको पुस मसान्तसम्ममा विकास बैंकहरुले कर्मचारी र कार्यालय व्यवस्थापन शीर्षकमा क्रमशः दुई अर्ब ७९ करोड ४० लाख र दुई अर्ब पाँच करोड ९० लाख रुपैयाँसहित कुल चार अर्ब ८५ करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा विकास बैंकहरुले कर्मचारी शीर्षकमा दुई अर्ब ४० करोड ९० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा एक अर्ब ८४ करोड ५० लाख रुपैयाँसहित कुल चार अर्ब २५ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् ।
फाइनान्स कम्पनीहरुकोे खर्च पनि पछिल्लो समय बढेर एक अर्ब २२ करोड ५० लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा फाइनान्स कम्पनीहरुले कर्मचारी शीर्षकमा ६७ करोड ८० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा ५४ करोड ७० लाख रुपैयाँ खर्च गरेका हुन् । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले कर्मचारी शीर्षकमा ६० करोड ९० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा ५१ करोड रुपैयाँसहित कुल एक अर्ब ११ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् ।