काठमाडौं, चैत ५
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मानवमुक्त अभियानलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सडक आश्रित मानवमुक्त अभियान नेपाललाई एक लाख रूपैयाँ सहयोग गरेको हो । बैंकले भविष्यमा पनि बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा जानकारी गराएको छ ।
हाल बैंकले सबै क्षेत्रमा गरी ९३ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । ग्राहकहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।
सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।