काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १० वटा चिया उत्पादक संस्थाहरूलाई अवार्ड वितरण गरेको छ । चीनको चीन चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्यांकन प्रतिष्पर्धामा उत्कृष्ट भएका १० नेपाली उत्पादक संस्थालाई अवार्ड वितरण गरिएको हो ।
चिया गुणस्तर परीक्षण मूल्यांकन प्रतिष्पर्धामा नेपाली चियाले ग्राण्ड गोल्ड मेडल, गोल्ड मेडल र सिल्भर मेडल जस्ता अवार्ड जित्न सफल भएको थिए । बोर्डले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालमा उत्पादित १६ वटा चियाको नमूना परीक्षणमा पठाएकोमा १० प्रकारका चियाले विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको जानकारी गराएको हो । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले यो अवार्ड नेपालको चिया क्षेत्रमा कार्यरत चिया उत्पादक किसान, स्टेट, प्रशोधक, उधोगी, व्यवसायी, विक्रेता, चिया उपभोक्ता र चियालाई माया गर्ने सबै नेपालीहरूका लागि एउटा ऐतिहासिक उपलब्धि भएको बताए ।
विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलंकाजस्ता देशहरूसँग कडा प्रतिस्पर्धा गर्दै यो प्रकारको अवार्ड प्राप्त गर्नु भनेको विश्व बजारमा नेपाली चियाको गुणस्तर सर्वोकृष्ट रहेको प्रमाणित हुनु रहेको उनको भनाइ थियो । यस्तै उनले नेपालको चियाको चिनियाँ बजार राम्रो रहेको र नेपाली चियाको अनलाइन विज्ञापन समेत सुरु भइसकेको बताए । गत वर्षको तुलनामा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा निर्यात ३६ प्रतिशतले वृद्धि भएको पनि उनले जानकारी दिए ।
ग्राण्ड गोल्ड मेडल विजेता पर्ल गोल्डेन चियाका सञ्चालक रितुकान्त खनालले रासायनिक मल तथा विषादी प्रयोगविना अग्र्यानिकरूपमा चिया उत्पादन गर्नुको प्रतिफल गोल्डेन अवार्ड भएको बताए । उनले आफूहरूले किसानको आयमा वृद्धि गरी मुलुकमा विदेशी मुद्रा आर्जनको लागि महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने गरी चिया उत्पादनमा लागेको बताए । उनले नेपाली चिया उत्पादनलाई सरकारले उद्योगको रूपमा विकास गर्नेगरी नीति नियमन बनाउन आवश्यक रहेको बताए ।
तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले ग्राण्ड गोल्डेन अवार्ड पाएको छ भने एफ्टी हिमालयन गोल्डेन, सांग्रिला गोल्डेन, जीटीई–गोल्डेन चिया, सिल्भर वीङ्गस, गोल्डेन टिप्स चियाले गोल्डेन मेडल अवार्ड जितेको छ । यसैगरी हिमालयन सनराईज ब्युटी (डिप प्रोसेस ब्ल्याक टी), स्पेसल व्ल्याक टी, नर्मल गोल्डेन व्ल्याक टी र एपी १० (मिरमिरे)ले रजत पदक जितेको हो । सो प्रतिस्पर्धामा बोर्डले नेपाल भरका ४० वटा चियाका नमूनाहरू संकलन गरी बोर्डमै भएको टेस्टीङग (चियाको स्वाद एव गुणस्तर परिक्षण) का आधारमा १६ वटा चियाका नमूनाहरू प्रतिस्पर्धाका लागि चीन पठाएको थियो ।
इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले विसं १९२० मा इलाममा चिया रोपेपछि नेपालमा चियाखेती सुरु भएको हो । झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरूलाई चिया क्षेत्रको रूपमा २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले घोषणा गरेका थिए । आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार नेपालमा १६ हजार ९१७ हेक्टर क्षेत्रमा खेती भएर त्यसबाट २३ हजार सात सय ४५ मेट्रिक टन उत्पादन भइरहेको छ । नेपालमा १७ हजार चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक आबद्ध रहेको बोर्डले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा तीन खर्ब ७९ करोड ७१ लाख रूपैयाँबराबरको ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भएको छ ।
नेपालको बढ्दो व्यापारघाटा कम गर्न चिया क्षेत्रले उल्लेख्य योगदान पु¥याउन सक्ने प्रशस्त आधारहरू रहेको बोर्डको दाबी छ । तर केही नीतिगत, वित्तीय एवं विषयगत समस्याहरूले गर्दा प्रशस्त सम्भावनाहरू भए पनि नेपालको चिया क्षेत्रले उपलब्धि प्राप्त गर्न नसकेको बोर्डको भनाइ छ ।